प्रदेशलाई अधिकार नदिएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुको असन्तुष्टि
सरकारमा रहने नरहनेबारे गम्भीर समिक्षा गर्न माग
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संघीयताबारे प्रश्न उठिरहेको बताएका छन् । केन्द्रीय समिति बैठकमा आज बोल्दै उनले केन्द्र र स्थानीय सरकार पहिले पनि रहेको तर प्रदेश नयाँ भएकोले प्रहार प्रदेश सरकारमाथि हुने गरेको पनि बताएका छन् । मुख्यमन्त्री पाण्डेले कानुन बनाउने रूची विगतका र अहिलेका सरकारमा नदेखिएको उनको भनाइ छ । केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिए । राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दाबी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनले बताए । केहि गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरुलाई कन्फ्लिक्ट अफ इन्ट्रेष्टका नाममा पाखा लगाउने गरिएको भन्दै चौधरीले असन्तुष्टि व्यक्त गरे । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले देशको आर्थिक अवस्था डामाडोल भएको बताए । देशको आर्थिक अवस्था सन्तोषजनक नभएको भन्दै सरकार, नीजि क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक भएको उनको भनाइ छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रमाणका आधारमा मात्रै अनुशासनको कारबाही गर्ने गरिएको बताए । अनुशासन समितिले गरेका कामको बचाऊ उनले गरेका हुन् । केन्द्रीय समिति बैठकमा धारणा राखेका अधिकांश केन्द्रीय सदस्यहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग गरेका छन । केन्द्रीय सदस्य राजीव ढुंगानाले आइतबार केन्द्रीय समितिमा भने, ‘सरकार अहिले के गरिरहेको छ, त्यसको समीक्षा गरिनुपर्ने बताए । अर्का केन्द्रीय सदस्य भीम पराजुलीले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनामा सरकारमा सम्मिलित नेताहरूको धारणा मागे । कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने पराजुलीको भनाइ छ । केन्द्रीय सदस्य लक्ष्मी परियारले आर्थिक संकटका कारणले आपराधिक घटना हुने गरेको बताइन । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिए । उनले सदियौँदेखि रहेको वैदिक सनातन धर्मविरुद्धमा सनातनीहरूलाई जिस्क्याउने र अपमान गर्ने काम भइरहेको भन्दै आपत्ति जनाए । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले आफूलाई हराउन पार्टीकै जिम्मेवार नेता लागेको आरोप लगाए ।
प्रतिक्रिया