प्रधानमन्त्री दाहालले बेइजिङमा ब्यापारिक सम्मेलनलाइ सम्बोधन गर्ने

साताव्यापी भ्रमणका लागि शनिबार चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको राजधानी बेइजिङ पुगेका छन् ।  बेइजिङमा आज हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सम्मेलन आयोजना गरेको हो । लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवद्र्धनका विषयमा आवश्यक छलफल हुनेछ । आज नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । त्यस्तै, प्रधानमन्त्री दाहालले चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् । भोलि नै प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । सोही क्रममा नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको कृषि र औद्योगिक क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे प्रधानमन्त्रीले जानकारी लिने छन् । प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा पनि जाने कार्यक्रम छ । तिब्बतमा रहँदा उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्कने कार्यतालिका छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर न्यूयोर्कबाट शनिबार बिहान हाङचाउ सहर पुगेका थिए । प्रधानमन्त्री दाहाल सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भएका थिए । 
 

प्रतिक्रिया