संविधान संशोधनको विषयले कांग्रेस–एमालेबिचको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ
काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि नहुने दाबी गरेका छन् ।
शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबिच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उनको भनाइ छ ।
प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने बताए ।
संविधान संशोधनलाई राष्ट्रिय एजेन्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने बताउँदै उनले सदनमा होल्डमा रहेका विधेयकहरूलाई समेत अन्य दलसँग छलफल गरेर छिटो भन्दा छिटो अघि बढाइने बताए ।
प्रतिक्रिया