देशभर बाट ५ हजार ८ सय फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभर बाट ५ हजार ८ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउन देखि मङ्सिर सम्म पक्राउ परेकामा सबै भन्दा बढी मधेश प्रदेशका एक हजार ५ सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौं उपत्यका बाट १ हजार २ सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् । 

कोशीबाट ७ सय ३५, बागमती बाट २ सय ६५, गण्डकी बाट ५ सय ६, लुम्बिनी बाट १ हजार ३५, कणाली बाट १ सय ६९ र सुदूरपश्चिम प्रदेश बाट २ सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ । निजहरू बाट ४३ करोड ५ लाख ४२ हजार जरिवाना समेत तोकिएको छ । निजहरू बाट कूल कैद १ हजार ९ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । 

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेश अनुसार जरिवाना तिराउर कारागार समेत पठाइएको बताए । 
रासस 

प्रतिक्रिया