माघे सक्रान्ति पर्वको अवसरमा नुवाकोटमा गोरु जुधाइने

नुवाकोट । माघे सक्रान्ति पर्वको अवसरमा यस वर्ष वेत्रावतीमा एघार हल गोरु जुधाइने भएको छ । 

नुवाकोट र रसुवाको संगम स्थल वेत्रावतीमा गोरु जुधाउन किसानले पालन गरेका मध्ये बाट उत्कृष्ट एघार हल गोरु दर्ता गरेर जुधाउन तयारी बनाइएको आयोजक गोसाईकुण्ड युवा क्लबले जानकारी दिएको हो । 

गोरु जुधाई प्रदर्शनीलाई धार्मिक, साँस्कृतिक एवम् कुटनीतिक महत्वको रुपमा वेत्रावती सहित नुवाकोटको तारुका लगायतका स्थान मनाइने गरिएको छ । दर्ता भएका गोरुलाई एक–अर्का अर्थात ‘वान भर्सेस वान’का आधारमा जुधाउन ठूलो शरीर भएका गोरु सातहल र साना शरीर भएका गोरु चार हल रहेकाले सोही अनुसार दुई समूहमा विभाजन गरिएको छ । 

जुधाईका क्रममा ठूला गोरु समूहका बिजेता गोरुका धनी किसानले  १५ हजार र उपबिजेता हुने गोरुका धनीले  १३ हजार पाउने छन् । यस्तै, साना गोरु समूह बाट बिजेता भएका गोरुका धनी किसानले १३ हजार र उपबिजेता भएका गोरुका धनी किसानले  ११ हजार पुरस्कार पाउने भएका छन ।  गोरु जुधाईका क्रममा बराबरी भएमा समान  १४ हजार गोरुका धनी किसानले पाउने व्यवस्था गरिएको छ ।

नेपाल र भोट बीच भएको युद्ध अन्तरगत बिसं. १८४९ मा वेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जीत भएको उत्सवमा तत्कालीन समयमा ‘गोरु जुधाउने पर्वले निरन्तरता पाउदै आएको छ ।

प्रतिक्रिया