अरुण तेस्रो आयोजना बाट ४ सय परिवारले मुआब्जा पाउने

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिए पछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचना अनुसार एक महिना भित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । 

त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटी बाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै ५३ करोड जम्मा गरिदिएको थियो ।

आयोजनाको प्रवेश मार्गमा झण्डै ४ सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेश पछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए। विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मार्गको ब्रेक थ्रु गरेर सुरुङ मार्गको काम सकिएको घोषणा गरिएको थियो ।
रासस 

प्रतिक्रिया