झापामा सीमा स्तम्भ मर्मत गरिँदै
झापा । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य शुरु भएको छ ।
नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालका तर्फ बाट मर्मत सम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगी स्थित सानो सीमास्तम्भ नं ९५÷१२ बाट मर्मत सम्भार कार्य थालिएको उनले बताए ।
झापामा भारत सँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्र अन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मत सम्भार गरिनेछन् । सशस्त्र प्रहरी सँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत शुरु गरिएको हो ।
सीमा क्षेत्रमा रहेका सीमा स्तम्भ मध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मत सम्भार गर्ने निर्णयानुसार गत वर्ष देखि दुवै तर्फ सीमा स्तम्भ मर्मत कार्य हुँदै आएको छ ।
रासस
प्रतिक्रिया