सन्दीप लामिछाने विरूद्धको मुद्दा पेशीमा नै नचढी स्थगित

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशीमा नै नचढी स्थगित भएको हो । गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरूको इजलासमा नपर्दा सुनुवाइ स्थगित भएको जनाइएको छ । यसअघि असोज १ गते पनि न्यायाधीश अभाव कै कारण सन्दीपको मुद्दा पेशीमा नचढी स्थगित भएको थियो । काठमाडौ जिल्ला अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँटमा मात्रै इजलास बस्नेछ । न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा इजलास नबस्ने अदालतले जनाएको छ । सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउने गरी अघि बढाउन सकेको छैन् । यसअघिको सुनुवाइमा जिल्ला अदालतले पीडित बालिकाकी आमाको जन्म मिति मगाउने आदेश दिएको थियो । एक नाबालिग किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोप लामिछानेमाथि छ । सो मुद्दाको थुनछेक बहसपछि २०७९ कात्तिक १८ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । पछि उनी उच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए । 
 

प्रतिक्रिया