तरकारीखेतीमा वडाध्यक्षको मोह

कञ्चनपुर । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेर सम्म बारीमा तरकारी टिप्नमा व्यस्त छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजार सम्म पुर्‍याएर बेच्छन् ।

यो कार्य उनले तीन वर्ष देखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसो पख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारी खेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउछन् । 

चौधरी तरकारीखेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन् । त्यहीँ भएर उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन् । बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउछन् ।  उनकी श्रीमतीले पनि तरकारी रोप्ने देखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाँउछिन् । । वर्षमा वडाध्यक्षले ५ लाख जत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उनले तरकारीखेती गरेका छन् । 

काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्यूसिमी, भान्टा, आलु लगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् । “काउली मात्र बेचेर ५० हजार जतिको आम्दानी भएको छ”, अध्यक्ष चौधरीले भने, “पहिलो पटक लगाएको काउली बेचिसक्यौँ, दोस्रो पटक लगाएको काउली आउँदो महिना बेच्न ठिक हुन्छ ।” काउली बाहेकको अन्य तरकारी २० हजार जतिको बेचेको उनी बताउछन् । 

“बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्”, अध्यक्षका श्रीमती सावित्री चौधरीले भने, “आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौँ ।”  यस अघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी १ लाख आम्दानी हात पार्न सफल भएका थिए । तरकारीखेतीको कमाइले परिवारको खर्च सँगै छोराको पढाई खर्च व्यहोर्दै आएका छन् । नगरपालिका बाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने उनी बताउछन् । 

“आर्थिक सहयोग माग्नेलाई दिनैपर्‍यो”, उनले भने, “भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैपर्‍यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाइनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगर बाट उपलब्ध हुने पारिश्रमिकले भ्यान निकै गाह्रो हुन्छ ।”

“जनप्रतिनि हुँ भनेर हात हल्लउँदै हिँड्नु पनि परेन, वडाध्यक्षले परीश्रम गरेको देखेर अरूले पनि गर्छन, काम गर्ने प्रवृत्ति हामीले नै बसाल्नुपर्छ, आर्थिक रूपमा वडावासी समृद्ध बने मात्र विकासले फड्को मार्ने न हो”, उनी भन्छन् । 

बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्छन् । गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्छन् । परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उनलाई चिन्ने गर्छन् । विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रो पटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउछन् । 

“वडाध्यक्ष भए पनि तरकारीखेती गर्नुहुन्छ, गाउँका अरू किसान भन्दा तरकारी फलाउनमा पछाडि छैनन्”, उनले भने, “नगरपालिका र वडा बाट पनि किसानलाई पहिलो स्थानमा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्नुहुन्छ, किसानलाई कुन किसिमको तालिम चाहिन्छ, माग अनुसारको तालिम चलाउनुहुन्छ ।”

वडा अध्यक्षकै प्रयासमा व्यवसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्नका लागि पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिका हाइटेक टनेल, सिँचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उनी बताउछन् । 
 
उन्नत जातको बीउबिजनको प्रयोगलाई बढावा दिने कार्य सँगै खेतीगर्ने तौर तरिका सिकाउनका लागि किसानलाई जानकारी गराउन प्राविधिक परिचालनको कार्य वडा अध्यक्षकै प्रयासमा हुने गरेको उनी बताउछन् । 

वडा अध्यक्ष हुनु अघि नरेन्द्रले गाउँको वरघर बनेर नेतृत्व गरेका थिए । गाउँको न्याय निसाफ छिन्ने, अंशवण्डा गर्ने,  संस्कृति जोगाउने, विकास निर्माणको अगुवाई गर्ने कार्य थारू समुदायमा वरघरले गर्ने गर्दछ ।
रासस 

प्रतिक्रिया