बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित

सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौंको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँ सम्म टायर बाली लहान स्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे ।
  
आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरी बीच झडप समेत भएको थियो ।  आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नु परेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए । उनले झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारी तर्फ पनि थुप्रै घाइते भएको जानकारी दिए । 

प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । स्थिति सामान्य भएपछि चार घण्टा पछि राजमार्ग सञ्चालनमा आएको थियो । 

स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते ३० लाख ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्ष अघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हाल सम्म १९ लाख ९२ हजार सात सय ७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नु परेको ऋणी यादवले बताए ।
  
यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए । सोही दिन आन्दोलनकारी र बैंक बीच वार्ता भएर आठ घण्टा पछि साँझ तालबन्दी खुलेको थियो । सो वार्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानूनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास शारदा बताउँछन् । 

अध्यक्ष्य शारदाले भने, ‘दुई पक्ष बीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो । यहाँ बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्याङ्कन ८० लाख गरेर ३० लाख ऋण स्वीकृत गरेको देखिन्छ । तर, चार वर्ष पछि जग्गाको भाउ बढ्नुको साट्टा घटाएर ६५ लाख मूल्याङ्कन गरी ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ ।”

चलन चल्ती अनुसार  एक करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमा लिलाम गरिदिएको पीडित यादवले बताए । उनले भने, ‘गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौँ । तर, त्यो बैंकले लिलाम गर्दा बेघर भयौँ । सोझो मान्छे जसरी पनि ठगिनेरहेछ । हामीलाई सरकारले न्याय गर्नुपर्छ ।’

यता कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुर स्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले बताए । उनले ऋणीलाई कानूनी प्रक्रिया बाट समस्या समाधान खोज्न आग्रह गरे । 

“हामीलाई प्राप्त सूचना अनुसार २०७९ साल देखि ऋणीले सावाँ ब्याज नबुझाएको र सम्बन्धित बैंकले चारपटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ । ग्राहकलाई प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानून सम्मत रूपमा आउनुभयो राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ, हामी त्यो गर्छौँ ।”
रासस 

प्रतिक्रिया