पोखरा बाट छुटेका रवि आज काठमाडौं अदालतमा उपस्थित हुने
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृह मन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।
लामिछाने विरूद्ध काठमाडौंमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले आज (शुक्रबार) उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रा.स्व.पा.का कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
अदालत बाट छुटे पछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेश अनुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासत बाट रिहा भएका हुन् । उनी सँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई ५ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई ५ लाख र कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने धरौटी रकम बुझाउन नसके पछि हिरासतमै रहेको अदालतले जनाएको छ ।
अदालतमा १० दिन सम्म भएको थुनचेक बहस पछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछाने सहित ४४ जना विरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिले सम्म ६३ जना विरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।
धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए ।
रासस
प्रतिक्रिया