प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, सम्बन्धमा नयाँ प्रगति बढाउने चीनको चाहना रहेको सीको भनाइ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । शनिबार चीन पुगेका प्रधानमन्त्री दाहालले हाङ्जाओमा राष्ट्रपति सीसँग औपचारिक भेटवार्ता गरेका हुन् । भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका छन् । उनले चीन–नेपाल सम्बन्धलाई उच्च महत्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको पनि बताए । देशको शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धमा नयाँ प्रगति बढाउने चाहना चीनको रहेको समेत सीले जानकारी गराए । भेटमा प्रधानमन्त्री दाहालले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई सुदृढताका साथ र समर्थन रहेको बताए । प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमणले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास समेत व्यक्त गरे । एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आजै हाहाङ्जाओ पुगेका हुन् । दाहाललाई हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहाल चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । एसियन गेम्सको उद्घाटनपछि प्रधानमन्त्री दाहाल चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटवार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर शनिबार अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन् ।
प्रतिक्रिया