निर्वाचनको मिति कानुनमै तोकिने
मोरङ । निर्वाचन आयोगका आयुक्त डा.जानकी कुमारी तुलाधरले निर्वाचन मिति कानुनमै तोकिने गरी संशोधन प्रक्रिया अघि बढेको बताएकी छिन् ।निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित स्थानीय तह उपनिर्वाचन २०८१ को समीक्षा कार्यक्रममा उनिले निर्वाचनको मिति कानुनमा उल्लेख भएमा समयमा निर्वाचन सम्पन्न हुने बताइन् ।
आयुक्त डा. तुलाधरले आगामी निर्वाचन २०८४ लाई लक्षित गरी आयोगले कानुन संशोधन प्रक्रियाअघि बढाएको जानकारी दिइन् । विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेकाले संसदको आगामी अधिवेशनमा सूचीकरणमा परेको जानकारी आफूले प्राप्त गरेको उनिले बताइन् ।
उनिले भनिन, “निर्वाचन आयोगले राष्ट्रपतिदेखि वडा तहसम्मको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले निर्वाचन कानुन संशोधन गरेर व्यवस्थित गर्न लागिएको हो ।” आयोगले महिलाको प्रतिनिधित्व बढाउने खालको व्यवस्था गर्न लागेको जानकारी दिइन् ।
समीक्षा कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन खर्चलाई ध्यान दिएर निर्वाचन कानुन संशोधन आवश्यक रहेको सुझाव दिए ।
प्रतिक्रिया