रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।
उनी रिहा भएपनि काठमाडौं प्रहरीले पुनः पक्राउ गर्ने भएको छ । तर, सभापति लामिछानेले जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने बताइएको छ । लामिछाने ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिएको हो ।
लामिछानेविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने तयारी गरेको हो ।
रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी लामिछानेलाई रिहा गर्न नसकिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया