रवि लामिछाने तत्काल रिहा नहुने, काठमाडौं प्रहरीले पुनः पक्राउ गर्दै

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल रिहा नहुने भएका छन् । उनलाई काठमाडौं प्रहरी पुनः पक्राउ गर्ने भएको छ ।

सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो । तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको बताइएको छ ।

रविविरुद्ध दायर भएको आर्थिक अपचलन सम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा केही आदेश नआएको प्रहरीको भनाइ छ ।

रविविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने तयारी गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन् । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी लामिछानेलाई रिहा गर्न नसकिने प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया