मुद्दा मिलाइदिन अख्तियारलाई घुस दिने प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत ध्रुवप्रसाद सापकोटाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
सापकोटाले गाउँपालिकाको मेसिनरी सामान खरिदमा आर्थिक अनियमितता गरेको भन्दै मंसिर १० गते अख्तियारमा उजुरी परेको थियो । सोहि उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपूरबाट अनुसन्धानको टोलीले मेल्लेख गएर स्थलगत मुचुल्का र सापकोटामाथि बयान लिएको थियो । अख्तियारको बयानपछि उनी आफैं एक लाख रुपैयाँ घुस लिएर अख्तियारको कार्यालय कञ्चनपूर गएका थिए ।
अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भन्दै उनी अख्तियारको कार्यालय कञ्चनपूरमा अनुसन्धान अधिकृतको कार्यकक्षमा कागजात सहितको खाम लिएर गएका थिए । अनुसन्धान अधिकृतले उक्त खाम आफैं खोल्नुस भनेपछि सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र १ लाख रुपैयाँ भेटिएको थियो । अनुसन्धान अधिकृतले यो के हो? भनेर प्रश्न गर्दा, मुद्दा मिलाइदिन भनि स्वेच्छाले ल्याएको सापकोटाले भनेका थिए ।
मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि उनलाई बोलाइएको थियो । बयान दिन जाँदा उनले घुस दिने उद्देश्यले लाखौँ रुपैयाँ ल्याएको भन्दै अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई उनले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।
सापकोटा विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी बिगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
प्रतिक्रिया