मध्ये रातमा गठबन्धन गरिने कुचक्रलाई तोड्नुपर्छ : भीम रावल

काठमाडौं । पूर्व नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेको सुन्दा आफूलाई आश्चर्य लागेको बताएका छन् ।

बिहीबार प्राज्ञिक मञ्चद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले भने, ‘यो आँखा र कानले धोका दिएको छैन भने देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा मात्र हुन्छ । मलाई आश्चर्य लाग्छ । सरकारमा म पनि गएको थिएँ । तर यतिसारो आँखामा पट्टी लगाएर जनता सबै मूर्ख छन् म मात्र सर्वज्ञाता छु भन्ने कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’

नेता रावलले पृथ्वीनारायण शाहले स्वाधीन, स्वतन्त्र र अखण्ड नेपालको जग बसालेको भन्दै प्रत्येक देशभक्तले त्यो जग भत्किन नदिन र ती जगका इँटाहरू कुनै दाह्रा र नङ्ग्राले लुछे जसरी देशलाई सर्वनाश हुन नदिन एक भएर अघि बढ्ने दिन आएको बताए । 

सोही कारण आफूले ‘मातृभूमि जागरण नेपाल’ अभियान चलाएको भन्दै रावलले भने, ‘देशभक्त नेपालीहरू फुटिइरहने, देशलाई लुट्नेहरू अनेक बहानामा मध्ये रातमा गठबन्धन गरेर पनि जुटिरहने यो कुचक्रलाई देशभक्तहरू एक भएर तोड्नुपर्छ ।’

प्रतिक्रिया