संसदीय समितिमा सभापति र सांसदबीच भनाभन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच भनाभन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच भनाभन भएको हो । आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न गरेका थिए । त्यसपछि सभापति यादवले उत्तेजित भएर जवाफ फर्काए । यादवको छेउमै बसेका माधव नेपाल मुसुक्क हाँसे तर केही बोलेनन् ।

सभापति यादवले वैठक समापन भएको घोषणा गरेपछि सांसद सुवालले उनीतिर औंला तेर्साउँदै भने, ‘सभापतिज्यूले जथाभावि नगर्नुस । मैले बोल्न पाउँछु कि पाउँदिन ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो ?’

सांसद सुवालको भनाइले सभापति यादव आवेशमा आए । उनले सुवालको प्रश्नको जवाफ नदिइकन थर्काउँदै भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने ?’ त्यसपछि सांसद सुवालले निरंकुश ढंगले वैठक नचलाउन सभापति यादवलाई चेतावनी समेत दिए ।

‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?’ भन्दै सांसल सुवालले चर्को स्वरमा सभापति यालवलाई थर्काएका हुन् ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए थियो । सो असहमतिपछि सांसद सुवाल र समिति सभापति यादवबीच भनाभनको अवस्था सिर्जना भएको थियो ।

प्रतिक्रिया