सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच ५ जना पक्राउ
तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ सहित ५ जना पक्राउ परेका छन् ।
वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारी बाट ऋण लिएर नतिरे पछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् । विसं २०७६ मा २८ लाख ऋण लिए पछि सावा, ब्याज एक पटक पनि नतिरेको, पटक पटक चिठी तथा फोन मार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रिया अनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
“घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानूनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो”, उनले भने । सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानूनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गरेको उल्लेख गरे ।
सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आँफू र आफ्नो परिवारलाई ५ जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिए । परिवार माथि साङ्घातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उनले बताए ।
पक्राउ परेका वडाध्यक्ष श्रेष्ठ सहित ५ जनालाई जिल्ला अदालत कार्यालय बाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।
प्रतिक्रिया