अर्घाखाँची महोत्सवमा ५ करोडको कारोवार गर्ने लक्ष्य
प्रेमनारायण आचार्य
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ ।
स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने तथा जिल्लाका पर्यटकिय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्य सहित महोत्सवको आयोजना गर्न लागिएको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए ।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो पुस २९ गतेदेखि माघ १२ गतेसम्म कुडुलेफाटमा ‘“कृषि, पर्यटन, उद्योग र व्यपार, स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार“ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने भएको हो।
जिल्लामा उत्पादन भएका रैथाने खाना, फलफुल तथा उत्पादित बस्तुको बिक्रीवितरण गर्न तथा धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरि पर्यटन भित्राउन र जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने अपेक्षा गरिएको सचिव सन्तोष बस्नेतले बताए ।
महोत्सवमा कृषि र स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादन भएका आयआर्जन हुने बस्तुको लागि निशुल्क स्टलको ब्यबस्था मिलाइएको अध्यक्ष मिश्रको भनाइ छ । जिल्ला भित्रका स्थानीय ब्यावसायीलाई ५० प्रतिशत छुटमा स्टलको व्यवस्था मिलाइएको छ ।
झन्डै ३ सय ५० स्टल रहने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले गरेको अध्यक्ष मिश्रको भनाइ छ ।
महोत्सवको स्थानीय झाकी सहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समुद्घाटन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सी खनालले बताएका छन् ।
महोत्सवमा दैनिक दर्शकलाइ आकर्षण गर्न सक्ने कलाकारहरुको प्रस्तुति रहने र स्थानीय ,प्रदेश तथा केन्द्रीय स्तरका कलाकारहरुलाइ प्राथमिकता दिइने सास्कृतिक संयोजक सन्तोष बस्नेतले जानकारी दिए ।
महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र संयोजक रहेको मुल आयोजक समिति र विभिन्न उपसमिति निर्माण गरेको छ।
प्रतिक्रिया