पूर्वराष्ट्रपति भण्डारीले गरिन काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिकाको विमोचन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गरेकी छन् । शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडेको २५५ औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गरेकी हुन् । सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले काजी पाँडेको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा समेत अर्पण गरिन् । मकवानपुरको टिष्टुङ, पालुङ तथा काठमाडौँको दहचोक र गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । विक्रम संवत १८२५ असोज १४ गते राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरेर काजी वंशराज पाँडे, तुलाराम पाँडे, केशरसिंह बस्न्यातको साथमा १ हजार गोर्खाली सैनिक लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए । राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली सेनाले आक्रमण गरेको थियो । ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ प्रवेश गरेका थिए । सोही बेलामा बारुद जल्दा तुलाराम पाँडेसहितका केही सिपाहीको आजकै दिन मृत्यु भएको थियो ।
प्रतिक्रिया