रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सभापति एवं पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस सकिए पछि बुधबार जाहेरवाला सहकारी पीडित पक्षका कानून व्यवसायीले जवाफी बहस गरेका छन् ।
आज (बिहीबार) सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गते देखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।
प्रतिवादीहरुका तर्फ बाट कानूनी व्यवसायीहरुको बहस सकिए पछि जवाफी बहस शुरु भएको अदालतले जनाएको छ । लामिछाने सहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्व डि.आइ.जी. छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायत माथि थुनछेक बहस भइरहेको हो ।
थुनछेक बहस पछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछाने माथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा लागेको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछाने सहित १९ जना विरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
लामिछाने सँगै खनाल, जोशी र पछाईँ विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
रासस
प्रतिक्रिया