आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रवार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो । सहमति भएसँगै शिक्षकहरुले आन्दोलन फिर्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको बताइन् ।
सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुको मर्यादाक्रम तोकिने, शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने, मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको छ । यसैगरी शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने सहमति पनि जुटेको छ । तर राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।
गत असोज ३ गतेदेखि शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने लगायत १७ बुँदे माग राखेर शिक्षक महासंघले काठमाडौंमा आन्दोलन थालेको थियो ।
प्रतिक्रिया