रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

नवलपरासी । चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीन स्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । 

यहाँ स्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताएका छन् । “आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन् । मन्दिर वरिपरि पुरातात्विक अवशेषहरू जता ततै छरिएका छन्, तिनको संरक्षण र थप विकास आवश्यक  छ । यसमा स्थानीय देखि सङ्घीय सरकारले विशेष पहल गर्न आवश्यक छ”, उनले भने । 

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वाल्मीकि आश्रम मन्दिरलाई संरक्षण, सम्वर्द्धन र विकास लागि पहल भइरहेको बताए । उनले नगरपालिकाले यस क्षेत्रलाई धार्मिक वनका रूपमा विकास गर्ने सोच बनाए पनि राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकाले समस्या रहेको बताए । 

माडी–१ का वडाअध्यक्ष अमितकुमार लामाले वडा स्तर बाट हुने खानेपानी र शौचालय लगायतका काम गरिए पनि अन्य पूर्वाधार र संरक्षणका काममा सरकारकै पहल जरूरी रहेको बताए । उनले आश्रम पुग्नका लागि भारतको विहार हुँदै जानुपर्ने बाध्यता रहेको र केही महिना अघि निकुञ्जको जङ्गलमा गोरेटो बाटो बनाइए पनि समस्या समाधान नभएको बताए । उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन् ।
रासस 

प्रतिक्रिया