‘नागरिकलाई शुद्ध पानी उपलब्ध गराउनु राज्यको दायित्त्व’
कैलाली । खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्की क्षेत्रमा खानेपानीका समस्या समाधान गरिने बताएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा सहलगानी खानेपानी आयोजनाको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले उक्त आयोजना सम्पन्न भए यस क्षेत्रमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताए ।
मन्त्री यादवले भने, “नगरिकलाई शुद्ध पानी वितरण गर्ने सरकारको प्रमुख लक्ष्य र उद्देश्य हो । लम्कीमा निर्माण भइरहेको खानेपानी आयोजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने छ ।” अनुगमन तथा निरीक्षणका क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आम देशवासी नागरिकलाई शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्त्व भएको बताए ।
मन्त्री यादवले सुदूरपश्चिमका आम नगारिकका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रूपमा समाधान गरिनेसमेत बताए । उनले भने, “सरकारको एक घर, एक धाराको अवधारणाअनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ ।
सुदूरपश्चिमाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।” तराई क्षेत्रमा भूमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नुपर्ने मन्त्री यादवले धारणा राखे । उनले भने, “चुरे दोहनले तराईमा भूमिगत पानी सुक्न थालेका छन् । चुरे दोहन गर्ने अब बन्द गर्नुपर्छ ।”निरीक्षण तथा अनुगमनमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही, मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, स्थानीय उपभोक्ता लगायतको सहभागिता थियो ।
प्रतिक्रिया