दिदी–बहिनी मृत्यु प्रकरण : आमाले गरिन् दुई छोरीको हत्या
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा बुधबार बिहान ११ बजे घरभित्र मृत भेटिएका दिदी–बहिनीको हत्या भएको खुलेको छ । हत्या उनकै आमाले गरेको खुलेको हो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाकी आमा २५ बर्षीया पुर्णिमा रानासँग सोधपुछ गर्दा हत्या आफैले गरेको स्वीकार गरेकी हुन् । उनले ३ वर्षीया र ६ महिनाकी आफ्नी छोरीको हत्या गरिन् ।
बालिकासँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बालिकाका बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्छन् । मृत भेटिएकी दिदी–बहिनीको स्वास्थ्यमा पनि कुनै समस्या नभएकाले घटना शंकास्पद हुन सक्ने प्रहरीको भनाइ थियो ।
पछि पूर्णिमाले श्रीमानसँग बेलाबेला हुने घरायसी विवादका कारण छोरीहरूको हत्या आफैले गरेको स्वीकारेको सल्यान प्रहरीले जानकारी दिएको छ । कपडाको सलले घाँटी थिचेर आफूले छोरीहरूको हत्या गरेको प्रहरीसँगको बयानमा पूर्णिमाले भनेकी छन् ।
प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया