अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्ने अध्यक्ष दाहालको प्रतिवद्धता
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको अपिहिमाल गाउँपालिकको केन्द्र खण्डेश्वरीसम्म सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग आज आफ्नै निवासमा भएको छलफलमा दाहालले प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा पालिकाको समग्र विकासमा लागि पर्ने विश्वास दिलाएका छन् ।अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरूआत गरिएको जानकारी दिँदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सुदूरपश्चिमको परिचित अपिहिमालका नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै दाहालले पर्यटन प्रवद्र्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताए ।
छलफलमा गाउँपालिकाका प्रतिनिधिले पालिकाको मुकामसम्म पुग्न १० किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
सो क्रममा अध्यक्ष दाहाललाई गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकीदेवी बोहरा, सबै वडाका वडाध्यक्ष, कर्मचारी, नेपाली कांग्रेसका पालिका सभापति शोवनसिंह लोथ्याल, माओवादी केन्द्रका पालिका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकाया लगायतले हस्ताक्षर गरेको तीन सूत्रीय ज्ञापनपत्र बुझाइएको थियो ।
रासस
प्रतिक्रिया