सात दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल चीनको हाङजाओमा, आजै राष्ट्रपति सी जीनपिङसंग द्धिपक्षीय भेटवार्ता हुने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने भ्रमणका लागि चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चिन पुगेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका दाहाल उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री दाहाललाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका खेलकुदमन्त्री एवम् १९ औं एसियन गेम्स २०२३ का अध्यक्ष काओ झिदान, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतले स्वागत गरेका छन् । प्र्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने भएको छ । १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहेकाले त्यहीँ भेटवार्ता हुने तय भएको हो । आजै अपराह्न ४ बजे दाहाल र सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । दाहाल १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । न्युयोर्कबाट दाहालको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य परराष्ट्र मन्त्रालयका अधिकारी चीन गएका हुन् । आइतबार प्रधानमन्त्री दाहाल हाङचउबाट बेइजिङ जानेछन् भने सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया