अमेरिकामा नेपाली पेशागत पत्रकारहरूको साझा र छाता संस्थाका रुपमा फिजाको स्थापना
काठमाडौं । नेपाली पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (फिजा) स्थापना भएको छ ।
फिजा अमेरिकामा दर्ता भई सर्व सम्मत रूपमा पहिलो कार्य समिति पनि गठन गरिएको छ । अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित फिजा पत्रकारहरू को अन्तर्राष्ट्रिय छाता सङ्गठन हुने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फिजाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ ।
संस्थाको प्रधान कार्यालय अमेरिकाको भर्जिनियामा रहने छ भने विश्वभर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तयारी महासङ्घले गरेको छ । फिजाको नवगठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभिन्यूज खबर टेलिभिजनका अमेरिका सम्पादक तथा बिगतमा रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिका र अन्य संचारमाध्यममा पूर्व प्रधान सम्पादक रहेका वरिष्ठ पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाल छानिएका छन् ।
यस्तै उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका समाचार प्रमुख,जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला र जनता टेलिभिजनका समाचार प्रमुख टङ्क पन्त छानिएका छन् । अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ पनि उपाध्यक्षमा छानिएका छन् ।
संस्थाको महासचिवमा स्वतन्त्र टङ्क दाहाल छानिएका छन भने सचिवमा अधिकारी रहेका छन् । कोषाध्यक्षमा भने कलाकार समेत रहेका डिसी नेपालका अमेरिका ब्यूरो चिफ अर्जुन दाहाल छानिएका छन् ।
फिजामा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक तथा अग्रज पत्रकार योगेश उपाध्याय, वरिष्ठ पत्रकार एवं हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालबाणी, राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक तथा राससका पूर्व अध्यक्ष प्रा. पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन सङ्घर्ष, स्वाधीनका प्रधान सम्पादक एवं राससका पूर्व अध्यक्ष डा. बाल कृष्ण चापागाईँ सल्लाहकार रहेका छन् ।
यसै गरी गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष,पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न संचार माध्यममा काम गरिसकेका र हाल हाल हिमालय खबरका प्रधान सम्पादक समेत रहेका पत्रकार विजय घिमिरे पनि महासङ्घको सल्लाहकार रहेका छन् ।
यसै गरी संस्थाको बोर्ड अफ डाइरेक्टरमा पत्रकारहरु इनेप्लिज डट कमका प्रधान सम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक नवराज कुँवर, दिनेश कार्की, कृष्णराज खनाल छानिएका छन् ।
यसैगरी क्यानाडाबाट विगत २० वर्ष देखि नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आएका अनिल थापा, स्वतन्त्र पत्रकार सुमन दाहाल र सुरेन्द्र सापकोटा पनि बोर्ड अफ डाइरेक्टरमा छानिएका छन् ।
फिजाका अनुसार सबै महादेशहरू बाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिइने छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ भने यसै गरी अन्य देशहरूमा पनि शाखा बिस्तार गरिँदै लगिने योजना रहेको फिजाले जनाएको छ ।
पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा फिजाले नेपाली पत्रकारहरूलाई मात्र नभइ विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेशागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको छ ।
प्रतिक्रिया