त्रिवेणीका किसान सुन्तला खेतीमा आकर्षित
रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ ।
पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँ बाटै प्रतिकिलो ५२ का दरले सुन्तला बिक्री भएको छ ।
उनका अनुसार पालिकावासीले यस वर्ष सुन्तला बिक्री बाट एक करोड एक लाख आठ हजार आठ सय आम्दानी गरेका छन् । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहे पनि अधिकांश किसानले सुन्तला बिक्री गरिसकेको छन् । व्यावसायिक सुन्तलाखेती गर्ने एक सय तीन जना किसान मध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्याएको थियो । असिनाले क्षति नपुर्याएका ठाउँमा भने किसानले सुन्तला बाट राम्रो मनग्य गरेका छन् ।
व्यावसायिक सुन्तलाखेती गर्ने प्रत्येक किसानले चार रोपनी क्षेत्रफल भन्दा बढी जग्गामा सुन्तलाखेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा छ क्विन्टल सम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए। पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तलाखेती भइरहेको छ । व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानले सुन्तला उत्पादन गर्दै आएका छन् ।
सुन्तलाखेती बाट गत वर्ष भन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी –४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताए । यो सिजनमा सुन्तला बिक्री बाट ७ लाख ८३ हजार आम्दानी गरेको खड्काको भनाइ छ । “सुन्तला बिक्री गर्न समस्या छैन, खरिद गर्न व्यापारी घरमै पुग्छन्, घर बाटै सात लाख ८३ हजारको सुन्तला बेचेँ”, खड्काले भने ।
प्रतिकिलो ६२ का दरले घर बाटै सुन्तला बिक्री गरेको उनले बताए । यसपटक एक सय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ । अन्य खेती छाडेर उनले व्यावसायिक रूपमा सुन्तला र अलैँचीखेती गर्दै आएका छन् ।
रासस
प्रतिक्रिया