चितवनमा तोरीखेती बढ्यो
चितवन । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सात देखि आठ प्रतिशत बढेको हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार छ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । क्षेत्रफल बढे सँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको उनको भनाइ छ । गत आर्थिक वर्षमा यहाँ १७ हजार छ सय ८९ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।
छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम क्षति पुर्याउने भएकाले यस तर्फ किसानहरूको आकर्षण बढेको हुनसक्ने उनले बताए । तोरीखेती प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकाले तोरीखेती प्रति किसानको आकर्षण वढ्दै गएको पौडेलको भनाइ छ ।
पूर्वी चितवनमा खैरहनी, कालिका र रत्ननगर नगरपालिका, पश्चिमी चितवनमा शिवनगर, पार्वतीपुर, शुक्रनगर, मेघौलीलगायत क्षेत्र र माडी नगरपालिकाका विभिन्न क्षेत्रमा तोरीखेती गरिँदै आइएको छ ।
रासस
प्रतिक्रिया