गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्छौँ : मन्त्री पौडेल

सुदूरपश्चिम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य ६ वटा प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन शुरु भइसकेको सन्दर्भमा अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्नेगरी गृहकार्य भइरहेको जानकारी दिए ।

उनले भने, “विश्वविद्यालय बनाउनुअघि गेटामा तीनसय श्ययाको अस्पताल सञ्चालन गर्ने र आगामी असारदेखि ‘एमबिबीएस’को पढाइ थाल्नेगरी तयारी भइरहेको छ ।” शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय  समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए ।

विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै अस्पताल सञ्चालन र अध्यापन पनि शुरु गर्नुपर्ने भएकाले त्यसका लागि नीति निर्माण गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, “गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सबै दल सहमत छन्, सरकार काठमाडौं बाहिर पनि छ भन्ने पुष्टि गर्न पनि शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना हुन आवश्यक छ ।”

विश्वविद्यालय सञ्चालनपछि मात्रै अस्पताल चल्छ र एमबिबीएसको पढाइ हुन्छ भन्ने कुरा नभएको बताउँदै उनले भने, “अहिले नै अस्पताल चलाउन सकिन्छ, यसका लागि छात्रवृत्तितर्फका १२ जना चिकित्सक र १८ जना नर्सलाई गेटामा पठाएर तत्काल अहोरात्र आकस्मिक सेवा र सघन उपचार सेवा सञ्चालन गर्न लागेका छौँ ।”

गेटामा मेडिकल विश्वविद्यालय स्थापनामा सुदूरपश्चिम प्रदेशवासीले बढी चासो राख्दै आएका छन् । विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन भएको सङ्घर्ष समितिले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

गोदावरी नगरपालिकाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न रु ७ अर्बको लागतमा एक वर्षअघि नै सुविधासम्पन्न भवन एवं संरचना निर्माण भएका छन् । सङ्घर्ष समिति र स्थानीयवासीको निरन्तरको दबाबपछि ती संरचनामा ५० श्ययाको अस्पताल सञ्चालनमा ल्याइए पनि अस्पतालको सघन उपचार कक्ष(आइसियु), जनरल बेड र आकस्मिक कक्षबाट अपेक्षाकृत सेवा प्रवाह हुन सकेको छैन ।  

प्रतिक्रिया