धनराज गुरुङमाथि सी.आई.बी.ले लियो ५ घण्टा बयान

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) दोस्रो पटक बयान लिएको छ । उपसभापति गुरुङमाथि सीआईबीले आज (मंगलबार) करिब ५ घण्टा लामो बयान लिएको हो ।

यसअघि कार्तिक २८ गते प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो । मितेरी सहकारीको रकम अपचलनमा सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।

ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा  २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको बताइएको छ । प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे पनि सोधपुछ गरेको हो ।

अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्, ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो ।’ साथै उनले मितेरी सहकारीबाट लिएको ऋण घर बेचेर तिरेको समेत बताएका छन् ।

उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।

प्रतिक्रिया