संविधान संशोधन सबै चिजको समाधान होइन् : उपमहासचिव ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको बताएका हुन् ।
उनले भने, ‘हामी संविधानको १० औँ वर्षमा प्रवेश गरेका छौँ । यस बिचमा केही महत्त्वपूर्ण उपलब्धिहरू भएका छन् । मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौँ । उनीहरूले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला । तर लोकतान्त्रिक अभ्यास स्मुथली रन गरिरहेको छ । धेरै कुराहरू भएका छन् । त्यसकै जगमा उभिएर हामीले समीक्षा गर्ने भनेका हौँ । मुलुकमा यावत समस्याहरू छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबिचमा ठुलो ग्याप छ ।’
संविधान संशोधनबाटै सबै कुराको समाधान खोजिरहेका जस्ता तर्कहरु सुनेको बताउँदै उनले संविधान संशोधन सबै चिजको समाधान हुन नसक्ने दाबी गरे ।
उनले थपे, ‘हामी समाधान कहाँ खोजिरहेका छौँ भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर, सबै कुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरूको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरू पनि हामीले सुन्छौँ । त्यो गलत हो भन्ने मलाई लाग्छ । कति संविधानका अन्तर्निहित कमजोरीका कारणले आजको समस्या आएको छ । कति संविधानभित्र अभ्यास गर्ने हामी पात्रहरू, संस्थाहरू र हाम्रा प्रवृत्तिहरूले काम गरेको छ । सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधान संशोधन सबै चिजको समाधान हुन सक्दैन ।’
प्रतिक्रिया