हामी संघीयताको पक्षमा छौँ, प्रदेश कायमै रहन्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संघीयताको पक्षमा रहेकोले प्रदेश खारेज नहुने बताएका छन् ।
‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले संघीयताको पक्षमा आफूहरू रहेकाले प्रदेश कायम रहने जिकिर गरेका हुन् ।
माघको पहिलो साताबाट सदन शुरू हुने जानकारी दिँदै उनले सदनबाट अहिले समितिमा रहेका सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको बताए ।
उनले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता छ । रोकिएर रहेको विधेयकहरूलाई अगाडि बढाउन हामीले संयन्त्र नै बनाएर काम गरिरहेका छौं । अहिले भएका सबै विधेयकहरूलाई चैत महिनाभित्र पारित गर्नुपर्छ । माघको पहिलो साताबाट सदन शुरू हुन्छ ।’
उनले १८१९ वटा बाँकी विधेयक टुंग्याउनको लागि क्यालेण्डर नै बनाएर काम गरिरहेको बताए । उनले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर जानुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताए ।
प्रतिक्रिया