प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

सिरहा । लहान स्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । 

नगरपालिकाको तर्फ बाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गरेका हुन् । सो अवसरमा उनले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसो बाट बच्नका लागि कम्बल सहयोग गरेको बताए । 

उनले भने, “दिनानु दिन चिसो बढ्दै छ, कठ्याङ्ग्रिँदो चिसोले गरिब तथा विपन्न वर्गका बिरामीलाई थप बिरामी पर्न बाट बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो । यस बाट यहाँ बस्ने बिरामीले न्यानो सँग रात काट्नेछन् ।”

शीतलहरको जोखिमले अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने जनाउँदै अस्पतालका प्रमुख डा. बिजेन्द्रकुमार यादवले कम्बल वितरणले बिरामीको शारीरिक र मानसिक अवस्थामा राहत पुग्ने विश्वास व्यक्त गरे। 

उनले स्थानीय तहले गर्नैपर्ने सहयोग अस्पतालाई गरेको आफूहरूले महसुस गरेको धारणा राखे । यस अस्पतालमा ६५ शय्या रहेका छन् ।
रासस 

प्रतिक्रिया