पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै, चिसो बाट बचाउन तातोपानीले स्नान गर्ने

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज(मंगलबार) रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । 

पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नु अघि आज बिहान पशुपतिनाथलाई चिसो बाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम छ । 

बाला चतुर्दशी देखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछा समेत चिसो बाट बच्न पानीको सतह मुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसो बाट बचाउन धनुर्मास पूजा सहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

परम्परा अनुसार आज राति देखि बिहान सम्म धनुर्मास पूजा गरिने छ  । धनुर्मास पूजा पछि गेडागुडी बाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजे देखि मन्दिर बन्द गरिने पशुपति विकास कोषले जनाएको छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास समेत रहेको छ ।

यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडा बाट घाम तापेर फर्कने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहान देखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया