शिक्षकहरुको प्रदर्शन तेस्रो दिन पनि जारी,ट्राफिक व्यवस्थापन अस्तव्यस्त
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले आजपनि प्रदर्शन जारी राखेका छन ।उनीहरुले लगातार तेस्रो दिन काठमाडौको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन । आफूहरूको माग पूरा गर्ने सम्बन्धमा विगतमा भएको सहमतिविपरीत विधेयक ल्याइएको आरोप आन्दोलनरत पक्षले लगाएको छ । यस पटक भने आफूहरूको माग पूरा गराएर मात्रै विद्यालय फर्कने अडानमा उनीहरू छन् ।
शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकाली लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आन्दोलनका कारण आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् । सरकारले भाद्र २७ गते संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् । शिक्षकले राहत, साबिक उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गत अस्थायी तथा करार सेवाका कार्यरत, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायतका शिक्षकका समस्यालाई आन्तरिक प्रतिस्पर्धामार्फत समाधान गर्नुपर्ने माग राखेका छन । त्यस्तै विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी हाल कार्यरतलाई स्थायीको प्रक्रियामा लैजानुपर्ने तथा अवकास प्राप्त वा अवकासमा जान चाहनेलाई सुविधा प्रदान गर्नुपर्ने मागपनि उनीहरुको छ। त्यस्तै बाल शिक्षकलाई पनि प्राथमिक तह तृतीय श्रेणीसरह सुविधा दिनुपर्ने, शिक्षक बढुवाको प्रावधानलाई व्यावहारिक बनाउनुपर्ने, शिक्षकलाई संघीय सरकारमातहतमै राख्नुपर्ने, निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई पनि सरकारीसरह सुविधा प्रदान गर्नुपर्नेलगायत १७ बुँदे माग शिक्षकका छन ।
प्रतिक्रिया