२९ वर्ष देखि ओडारमा व्यापार

रामेछाप । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्की २९ वर्ष देखि सोही वडा स्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । 

विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटार सम्म कच्ची मोटरबाटोको सुविधा पुगे पछि रामेछाप र सिन्धुलीका मानिस मन्थली बाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौं ओहोरदोहोर गर्न थालेपछि उनले ‘चिया चमेना’को व्यापार शुरु गरेका थिए । 

तत्कालीन समयमा कार्कीले ओडार बाट शुरु गरेको व्यापार अहिले जस्ताको छानोमा परिमार्जित भएको छ । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरा सहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसल बाट भएको आम्दानी बाट गरिरहेको बताए । 

जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्ष सम्म ज्याला मजदूरी गरेर केही रकम लिई स्वदेश फर्किएका थिए । सोही बेला देखि शुरु गरेको ओडारको पसलले सहजै जीविकोपार्जन गरिरहेको छ ।  ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खाना समेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए ।     

‘त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटी लगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दुःख दिने गरेको छ”, उनले भने । 

चार–पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा ओडार आइपुगेको कार्कीले बताए ।  यही व्यापार बाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुई कोठे कच्ची घर बनाएको उनले बताए । 

सबै छोरा छोरीको विवाह गरिसकेका  कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गरेका छन् । पसल बाट सुरुआती चरणमा दैनिक दुई हजार पाँच सय देखि १० हजार सम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले व्यापार घटेको उनको भनाइ छ । 

गत असोजमा १२ गते आएको बाढीका कारण रोशी खोलाले बि.पी. राजमार्ग अवरुद्ध पारेपछि काठमाडौं बाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा काठमाडौं बाट आउने जाने सवारी साधन पुष्पलाल मार्ग बाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताए । बि.पी. राजमार्ग सञ्चालनमा आई खुर्कोटको पुल समेत बनेपछि पुनःव्यापार घटेको उनले सुनाए । 

विसं २०७२ को भूकम्पले समेत ओडारमुनिको ओडारका पसलमा कुनै क्षति नपुगेको उनले बताए “पटक पटक वडा र पालिकाले भूकम्पको जोखिम भएकाले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समय देखि यही बसेर व्यापार  गरेको र केही संरचना पुनःनिर्माण गरिसकेका यहाँ बाट अन्यत्र जान सबेको छैन”, उनले भने । 

ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटक पटक प्रयास गरे पनि ऐलानी जग्गामा अस्थायी बासोबास भएकाले विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गरे । सोही कारणले साँझ अबेर सम्म बस्न नसकिने र व्यापार पनि कम हुने उनको बुझाइ  छ ।

“मैले रोपेको बाँस मध्ये सात झाँङ फस्टाएर अएकाले बिक्री गर्नेबेला भएको छ । वर, पीपल ठूला भएर सित्तल बस्ने चौतारो बनिसकेको छ । केरा आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर काहीँ जान मन लाग्दैन”, कार्कीले भने । स्थानीय सरकारले विद्युत्को व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उनको भनाइ छ । 

प्रायजसो निजी सवारी साधनमा यो सडक मार्ग भएर ओहोरदोहोर गर्ने  मानिस यहाँको पसलमा चिया, खाजा खाएर कार्की सँग कुराकानी गरेर मात्र गन्तव्य तर्फ लाग्ने गर्दछन् ।
रासस 

प्रतिक्रिया