बलात्कार आरोपमा पक्राउ परेका पूर्व मेयर शिवाकोटी कारागार चलान

झापा । झापा जिल्ला अदालतले आज विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।

आदेश बमोजिम उनी आजै पुर्पक्षका लागि झापा कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत मङ्सिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए । “प्रहरीको अनुसन्धान सकिएपछि उहाँलाई अदालतमा उपस्थित गराइएको थियो”, सूचना अधिकारी बस्नेतले भने, “हिजो र आज दुई दिनमा बयान सकिएको छ । आज थुनछेकको बहसपछि उहाँलाई पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएको हो ।”

प्रहरीले पेस गरेको अभियोगपत्रमा अभियुक्त शिवाकोटीमाथि १२ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । उक्त मुद्दाको सुनुवाई अदालतको बन्द इजलासमा भएको थियो ।

प्रतिक्रिया