३ महिनामा १ सय ९२ फरार प्रतिवादी पक्राउ
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा रु ५ लाख ९९ हजार जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यसैगरी, एक सय २१ जनाको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । यस अवधिमा भन्सार छली गरी ल्याउँदै गरेको रु ७० लाख ७२ हजार बराबरको समान तथा उक्त कार्यमा संलग्न आठ जनालाई भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सो अवधिमा प्रहरीले दुई टन ६४ किलो गाँजा बरामद गर्नुका साथै सात जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । यस्तै लागुऔषध कारोबारमा संलग्न तीनजनालाई समेत पक्राउ गरिएको छ । यस अवधिमा एक सय ८५ सवारीसाधन दुर्घटना भएकामा सातजनाको मृत्यु तथा तीन सय ८४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया