बाँकेको सुधारगृहमा झडप हुँदा एक बालकको मृत्यु, १० जना घाइते
बाँकेको जयन्दु बालसुधार गृहमा तोडफोड र आगजनीमा उत्रेका सुधार गृहमा रहेका रुपन्देहीका सुलभ केसीको झडपमा परि मृत्यु भएको छ । एकअर्काबीचको झडपका क्रममा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुडुवा गाउँपालिका–६ स्थित सुधार गृहमा रहेका दुई सय ५५ जना मध्य ९ जना अझै फरार रहेका छन् । नेपाल मेडिकल कलेज नेपालगन्जमा दश घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । किशोर र युवाको समूहले गएरातिदेखि नाराबाजी गर्दै तोडफोड गरेका हुन् ।
एकआपसमा झगडा गर्ने क्रममा प्रहरीले स्थितिलाई मत्थर पार्न खोज्दा बालबिज्याइँको समूहले प्रहरीमाथि आक्रमण गरेका थिए । उनीहरूले प्रहरीलाई गाली गलौज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त बनेको थियो । सुधार गृहको झ्यालका सबै सिसा फुटेका छन् । उनीहरूले कोठामा आगजनीसमेत गरेका छन् । त्यसक्रममा भागेका २५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सुधार गृहमा पसेर बल प्रयोग गर्न नपाउने कानुनी प्रावधानका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको बताइएको छ । २०७९ माघ २५ गते पनि उक्त सुधार गृहमा आगजनी भएको थियो ।
प्रतिक्रिया