सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्या मात्र हो : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्यामात्र रहेको बताएका छन् । 

काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अब सहकारी चाहिँदैन भन्ने गरी हल्ला चलाइएको गुनासो गरेका हुन ।

सरकारले ल्याएको सहकारी अध्यादेशलाई लिएर अहिले नै आत्तिहाल्नु पर्ने स्थिति नरहेको स्पष्ट पार्दै मन्त्री अधिकारीले केही नमिलेका कुरा संसोधन गर्ने समेत बताए ।

मन्त्री अधिकारीले कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउने गरी काम गर्नुपर्ने समेत बताए । उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए । 

सबैले सरकारको मुख ताक्ने मात्र नभई आ–आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने मन्त्री अधिकारीको भनाइ छ । ऐन कानूनहरू पूरानै हुँदा अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको भने उनको स्वीकारोक्ति थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री  खगराज अधिकारीले सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको बताए । उनले बचतमा दश लाखको सीमा तोक्ने नभएर दश लाखभन्दा धेरै बचतको अनुगमन बढाउनुपर्ने बताए ।

प्रतिक्रिया