चीनमा कोरोना जस्तै नयाँ भाइरस देखिएपछि बिश्वभर चिन्ता,भारतमा दुई जनामा भेटियो

एजेन्सी । कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएसँगै विश्वव्यापी रुपमा स्वास्थ्य चिन्ता खडा भएको छ  । 

यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ । चीनमा हालै कोरोना सँग मिल्दोजुल्दो फ्लू–जस्ता लक्षणहरू भएको श्वास प्रश्वाससम्बन्धी रोग, ह्युमन मेटाप्युमो भाइरस (एचएमपीभी) को फैलावटले विश्वव्यापी रूपमा स्वास्थ्य चिन्ता खडा गरेको हो  ।

चीनपछि भारतमा पनि यो रोग देखा परेको छ । भारतीय संचार माध्यमहरुका अनुसार  सोमबार बेंगलुरुमा एचएमपीभी दुइजना शिशुहरुमा देखा परेको छ ।  जसमा एउटा ३ महिनाको बच्चा र अर्काे  ८ महिनाको बच्चा रहेका छन् ।  तर ती शिशुका आफन्तमा  कुनै पनि  अन्तर्राष्ट्रिय यात्राको इतिहास नरहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनमा यो रोग फैलिएपछि सतर्कता अपनाइएको छ । 

एचएमपीभी पहिलो पटक सन् २००१ मा पहिचान गरिएको श्वासप्रश्वास संक्रमण हो जसले फ्लू जस्तो लक्षणहरू निम्त्याउँछ । यसले सबै उमेरका मानिसहरूलाई असर गर्न सक्ने भएतापनि खासगरी साना बालबालिका (५ वर्ष मुनिका), वृद्धवृद्धाहरू र कमजोर स्वास्थ्य प्रतिरक्षा प्रणाली भएकाहरू उच्च जोखिममा रहने बताइएको छ । 

एचएमपीभीका कारण बालबालिकामा खोकी, ज्वरो, नाक बन्द, सास फेर्न गाह्रो, र घाँटी दुखाइ जस्ता समस्याहरु देखा पर्न सक्छ ।  यी लक्षणहरू सामान्यतया  भाइरसको सम्पर्कमा आएको तीन देखि छ दिन पछि देखा पर्दछ । यसले गम्भीर रुपमा स्वास्थ्य समस्या निम्त्याउने र अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्छ । 

एचएमपीभी रोग भएको व्यक्तिसँग प्रत्यक्ष सम्पर्कबाट यो फैलिन्छ। एचएमपीभी भएको व्यक्तिलाई  छुँदा, खोक्दा, हाच्छिउँ गर्दा र हात मिलाउँदा भाइरस फैलिन सक्छ।


 

प्रतिक्रिया