अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने– गाजा युद्धविराम छिट्टै हुन्छ

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “आवश्यक प्रक्रियापछि र अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदबाट हटेपछि सम्भवतः जनवरी २० पछि युद्धविराम हुनेछ ।”

गत वर्ष हमास र इजरायलबीच युद्धविरामका लागि पटक–पटक प्रयास गरेपनि असफल भएको स्मरण गर्दै ब्लिन्केनले भने, “बाइडेन प्रशासनले आफ्नो कार्यकालको अन्त्यसम्म युद्धविराम र बन्दी मुक्त गर्ने काम हरेक दिन हरेक मिनेट गरिनेछ ।”

“हामी आगामी दुई हप्तामा युद्धविराम सम्झौतालाई निष्कर्षमा ल्याउन चाहन्छौं,” विदेशमन्त्री ब्लिन्केनले सियोल भ्रमणका क्रममा सञ्चारकर्मीसँग भने । उनी भन्छन्, “यदि हामीले आगामी दुई हप्तामा फिनिसिङ लाइन पार गर्न सकेनौं भने पनि मलाई विश्वास छ यो कुनै बिन्दुमा छिट्टै पूरा हुनेछ ।”

“सम्झौता राष्ट्रपति बाइडनले अघि सारेको योजनाको आधारमा हुनेछ र लगभग सम्पूर्ण विश्वले समर्थन गर्नेछ,” उनले भने ।

जनवरी २० मा कार्यभार सम्हाल्ने तयारीमा रहेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई अझ बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् र सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा समातिएका बन्धकहरूलाई मुक्त नगरे हमासले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् ।

हमासका एक अधिकारीले आइतबार इजरायलसँगको सम्भावित सम्झौताको ‘पहिलो चरण’मा ३४ जना बन्धकलाई मुक्त गर्न समूह तयार रहेको बताए । ब्लिन्केनले सम्झौतामा पुग्न हमासले आफ्नो तर्फबाट ‘तीव्र चाहना’ गरेको तर त्यो अझै पूरा नभएको बताए । 

ब्लिन्केनले भने, “हामीलाई सम्झौतालाई पूरा गर्न र बन्धकहरूको लागि परिस्थितिलाई मौलिक रूपमा परिवर्तन गर्न, उनीहरूलाई मुक्त गर्न, गाजाबासीलाई राहत दिन र समग्र क्षेत्रका लागि राहत महशुस हुने काम गर्न अगाडि बढ्नका लागि अन्तिम निर्णयहरू गर्न आवश्यक छ ।”

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको भीषण आक्रमण र बदलामा इजरायलले गाजामा चलाएको हमासविराधी कारबाहीसँगै ब्लिन्केनले मध्यपूर्वको १२ पटक भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया