केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’

साथै, प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा छ ।

‘तीनै तहमा सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका कमरेडहरूले जिम्मेवारी पाएको एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ र सेवा अवधिभर हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ,’ कार्ययोजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया