माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक आजपनि जारी रहनेछ । धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा बैठक विहान एघार बजेपछि शुरु हुनेछ । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहालले संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको उल्लेख छ ।
दाहालले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताएका छन् । उनले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने र पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने उल्लेख गरेका हुन् । अध्यक्ष दाहालले फागुन १ गतेदेखि एक महिने तराई-मधेश जागरण अभियान चलाउने प्रस्ताव पनि गरेका छन् ।
बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चा सक्रिय बनाउने, वैज्ञानिक समाजवाद मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको छ । बैठकमा अध्यक्ष दाहालले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पनि गरेका छन् । बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको दावी गरेका थिए । बैठक पुस २४ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया