हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताएकी छिन् । उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनिले तीन वटै तहका सरकारबीच समन्वय गरी हुलाक सेवा पुनःसंरचना गरी अझ प्रभावकारी बनाउन  आवश्यक भएको बताइन् ।

सचिव अर्यालले भनिन, “हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यो सेवालाई रोक्न मिल्दैन, यो राज्यको दायित्व हो ।”हुलाक सेवा विभागद्वारा ‘सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सन्दर्भिकता छ वा छैन रु’ शीर्षकमा भएको प्रतियोगितामा २६ विद्यालयका २९ जना छात्रछात्रा सहभागी छन् । 

सचिव अर्यालले प्रविधिमा आश्रित आजको युगमा हुलाकले नयाँ पुस्ताको माग र चाहनालाई कसरी सम्बोधन गर्न सक्ला भन्ने छात्रछात्राबाट पक्ष र विपक्षमा प्रस्तुत विचारले आफू प्रभावित भएको बताइन् । हुलाका सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले विद्यालयमा आयोजना हुने यसप्रकारका प्रतियोगिताले विद्यार्थीले क्षमता प्रस्फुटन गराउनमा सहयोगी हुने धारणा राखिन् ।

विभागका निर्देशक ध्रुवराज आचार्य र निर्णायक मण्डलका सदस्य मातृका कार्कीले परेवाका माध्यमबाट सूचना आदानप्रदान गर्ने इतिहास रहेकामा हुलाक सेवाको स्थापनाले आधुनिक युगमा सूचनाको पहुँचलाई सहज तुल्याएको घटना बताए । हुलाक सेवा विभागका निर्देशक तथा निर्णायक मण्डलका अध्यक्ष विशाल सापकोटाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेका विश्वका कतिपय मुलुकले हुलाक सेवाको महत्वका आधारमा सेवालाई परिस्कृत र सर्वव्यापी बनाउँदै लगेको धारणा व्यक्त गरे ।

उनले नेपालको निजामती सेवामा सामुदायिक विद्यालयका उत्पादनकै बाहुल्यता रहेको सन्दर्भमा यसको महत्व उजागर गर्न उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयका छात्रछात्राबीच प्रतियोगिता गरिएको बताए । नेपाल फिलाटेलिक सङ्घका कार्यवाहक अध्यक्ष चन्द्रमणि श्रेष्ठले सूचना प्राप्तिको उच्चतम प्रविधिको अभ्यास भइरहेको वर्तमान विश्वमा हुलाक सेवाको महत्व उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।चिठीपत्र, खबर र सूचना एकस्थानबाट अर्को स्थानमा पुर्‍याउने प्राचीन माध्यम (सेवा) हुलाकको शुरुआत बेलायतबाट सन् १५१६ मा भएको थियो ।

विश्वमै हुलाकलाई अत्यावश्यक सेवाकारुपमा लिने गरिएको छ भने विश्वका १९२ देशमा सरकारी सेवाकारुपमा हुलाक सेवा छ ।नेपालमा विसं १९३५ मा हुलाक सेवा स्थापना भएको थियो । वार्षिक ३० लाख हुलाक वस्तुको कारोबार र रु ६३ करोड आम्दानी  हुलाक सेवाबाट हुँदैआएको छ । अहिले पनि हुलाक सेवालाई विश्वासिलो र गोपनीयताका हिसाबले ज्येष्ठ र सर्वश्रेष्ठका रुपमा लिने गरिएको छ ।

हुलाक सेवा विभागले हालसम्म एक हजार चार सय ३७ प्रकारका हुलाक टिकट मुद्रण गरिरहेको छ ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः रु १५ हजार, रु १२ हजार पाँच सय, रु १० हजार र रु सात हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 
 

प्रतिक्रिया