माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै काम नगरेको एमालेको दाबी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय समिति बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गरेर बैठक  शुरु गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताए ।

उनले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कामले पार्टीलाई बलियो नबनाउने टिप्पणी समेत गरे । ओलीले प्रतिवेदनमा माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरेका छन । दाहालको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको उनको प्रतिवेदनमा उल्लेख छ ।

एमालेले माओवादी नेतृत्वको सरकारले ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई र सुन तस्करीमा पूर्वसभामुख महरालाई जोगाएको दाबी प्रतिवेदनमा छ । वर्तमान सरकार र एमाले–कांग्रेसको साझा निष्कर्ष भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिन नहुने पनि ओलीले बताएका छन । राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय रहेको उल्लेख छ ।

ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको बताएका छन् । प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको भन्दै उनले सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न नेताहरूलाई आग्रह गरेका  छन् ।

प्रतिवेदनमाथि दुई दिन छलफल गर्ने एमालेको तयारी छ । अध्यक्ष ओलीको प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधनका विषय समेटिएका छन ।

त्यस्तै आर्थिक सुधार, सहकारीलगायत विषयलाई पनि प्रतिवेदनमा औल्याइएको छ । केन्द्रीय समिति बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चार वटा केन्द्रीय आयोगका प्रमुख सहभागी छन् । बैठक दुई दिनमा सक्ने पार्टीको तयारी छ ।
 

प्रतिक्रिया