रा.स्व.पा. द्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद सँग छलफल गरेर दलको तर्फ बाट सार्वजनिक धाराणा बनाउने छ । कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन् । 

उक्त  कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने छन् । यसैबीच रा.स्व.पा.को केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भू स्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशा बारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताए । 

पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै, पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामा समेत छलफल हुने बताइएको छ ।
रासस 

प्रतिक्रिया